
काठमाडौं । चुनाव आउन केही दिनमात्र बाँकी रहँदा देशभर सरगर्मी बढ्दो छ । मतदाता प्रभावित गर्न उम्मेदवारले गीतसंगीत, घरदैलोदेखि सामाजिक सञ्जालसम्मको भरपूर उपयोग गरिरहेका छन् । वृद्धदेखि बालकसम्मलाई चुनावको रन्कोले छोएको छ ।
वैशाखको टन्टलापुर घाम त्यसमाथि थपिएको झरी तर पनि उम्मेदवारलाई भोट माग्न भ्याइनभ्याइ छ । दलका उम्मेदवारलाई कार्यकर्ताले सघाएका छन् । स्वतन्त्र उम्मेदवारको प्रभाव पनि कम छैन ।
उम्मेदवारलाई भन्दा कार्यकर्तालाई चुनावी उन्मादले छोएको छ । काठमाडौं उपत्यकामा प्रचार शैलीका अनेक रूप भेटिने गरेका छन् । आफ्नो उम्मेदवार र पार्टीको पक्षमा उत्तेजक नाराबाजी गर्ने समूह बाक्लै भेटिए ।
युवा मात्र हैन, ज्येष्ठ नागरिकमा पनि चुनावी रौस चढेको देखिन्छ । युवा उम्मेदवारका स्वभावतः उही उमेरका समर्थक साथमा रहेका भेटिन्छन् । भोटका लागि उम्मेदवारले संस्कृति, परम्परा, गुठीदेखि क्लब, शुभेच्छुक संघसंस्थाहरूमा समेत भेटघाट बढाएका छन् ।
महिला उम्मेदवारले राजनीतिमा महिला सशक्तिकरणको मुद्दा पेचिलो बनाएका छन् भने युवाहरूमा एजेण्डा र अनुहार परिवर्तन नभई देश नबन्ने आकांक्षा रहेको छ । सडकमा युवा जोस मज्जैसँग पोखिएको छ ।
काठमाडौं बाहिरका उम्मेदवारले भूगोल र स्थानीयतालाई प्रमुखता दिएका छन् । कहिँ–कहिँ त कार्यकर्तासँगै उम्मेदवार छमछमी नाचेर मतदाता रिझाइरहेका छन् । पार्टीले बनाएका चुनावी गीतलाई माध्यम बनाएर भोट माग्न पनि कम छैनन् ।
अरुबेला नेता र राजनीतिक दलप्रति रुचि नराखे पनि आफ्नो घरदैलोमा आएका उम्मेदवारलाई स्वागत, सत्कार गरी सगुन ख्वाउनेहरूको भीड उत्तिक्कै देखिन्छ । जे भए पनि लोकतन्त्रको मानक मानिने चुनावप्रति नेपाली जनताको सकारात्मक दृष्टिकोण आफैंमा उपलब्धि हो ।
प्रतिक्रिया दिनुहोस्