
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनकाे युद्धका विषयमा आफूले सही निर्णय गरेको दावी गरेका छन् ।
राजधानी मस्कोको रेड स्क्वायरमा विजय दिवसको अवसरमा भएकाे कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले यस्ताे बताएका हुन् । राष्ट्रपति पुटिनले युक्रेन युद्धका विषयमा आफूले सही निर्णय गरेको बताउँदै यो निर्णयलाई स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही भएको दावी गरेका छन्। राष्ट्रपति पुटिनको साेही सम्बोधनकाे कार्यक्रममा उपस्थित सैनिकहरूले ताली बजाएर स्वागत समेत गरेका थिए । उनले युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको समेत बताएका हुन् ।
पुटिनले आफूहरू रुसको सुरक्षाका लागि जारी लडाई कायमै राख्न अपील समेत गरेका छन् । दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि रूसले गरेको विजयको सम्झनामा रूसमा प्रत्येक वर्ष विजय दिवस परेड मनाइने गरिएको छ । पुटिनले गत वर्षदेखि अन्य युरोपेली देशहरू र नेटोसँग तनाव उत्पन्न भएको स्वीकार गर्दै रुसले युरोपलाई निष्पक्ष समाधान खोज्न अपील गरेको बताएका छन् ।
यद्दपी युरोपले रुसको कुरा सुन्न नचाहेको भन्दै पुटिनले युरोपले डोनबासमा कारबाही गर्ने योजना बनाइरहेको खुलासा समेत गरेका छन् । युक्रेनको किभमा परमाणु हतियार उपलब्ध गराउन पश्चिमा राष्ट्रहरु लागिपरेको भन्दै उनीहरुको आलोचना समेत गरेका हुन् ।
रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो सम्बोधनका क्रममा दोस्रो विश्वयुद्धमा मारिएका रुसी र डोनबासमा लडिरहेका रुसी सैनिकहरूका लागि दुई मिनेट मौनधारण गर्न अपिल समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्