१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रौतहटमा चुनावी चटारो, अधिकांश पालिकामा द्विपक्षीय र त्रिपक्षीय प्रतिस्पर्धा


507
Shares

रौतहट । स्थानीय तहको निर्वाचन नजिकिएसँगै रौतहटमा उम्मेदवारलाई घरदैलोको चटारो छ । १८ पालिका रहेको जिल्लामा प्रमुख पार्टीका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

मतदातालाई आफ्नो प्रभावमा पार्न उम्मेदवारहरूले नागरिकको जीवनशैली उकास्नेदेखि नगरको विकास आफ्नै कार्यकालमा गर्नेसम्मका प्रतिबद्धता व्यक्त गरेका छन् ।

पालिकामा दल र स्वतन्त्रका उम्मेदवारहरूले प्रचार अभियानलाई तीव्रता दिएका छन् । उनीहरू आफू विजयी हुने दाबी गरिरहेका छन् ।

स्थानीय निर्वाचनमा पनि दलकै बर्चश्व रहे पनि यसपटक मतदाताहरू त्यति खुल्न चाहेका छैनन् । पार्टीले टिकट नदिएपछि दल बदलेर उम्मेदवारी दिनेको संख्या पनि जिल्लामा उत्तिकै छ ।

चुनावको दिनसम्म अवस्था नफेरिए अधिकांश पालिकामा द्विपक्षीय र त्रिपक्षीय भीडन्त हुने सम्भावना प्रवल छ । दलको उम्मेदवारको प्रतिबद्धतामा खानेपानी, शिक्षा, सहकारी, स्वास्थ्य, कृषिलगायत पूर्वाधार विकासका विषय समेटिएका छन् ।

नेपाली कांग्रेसबाट प्रमुख पदको टिकट नपाएपछि चन्द्रपुर नगरपालिकामा रामचन्द्र चौधरी स्वतन्त्र उम्मेदवार बनेर उठ्नुभएको छ । नेकपा (एमाले)बाट बृन्दावन नगरपालिमा प्रेमशंकर यादवले टिकट पाउँदा गुजरा नगरपालिमामा शेष एकरामुल हकले उम्मेदवारी दिनुभएको छ ।

चन्द्रपुर नगरपालिकाको प्रमुख पदका उम्मेदवार शिबप्रसाद आचार्य भ्रस्टाचार नियन्त्रण र विकासका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पार्नुहुन्छ ।

नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिनुभएका बाबुराम दाहाल पनि समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।

नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदका उम्मेदवार संजयकुमार काफ्ले जनताको जीवनस्तर उकास्न र पूर्वाधार निर्माणमा आफ्नो जोड रहने बताउनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)बाट प्रमुख पदका उम्मेदवार खिलप्रसाद पौडेल जनजीविकाको सवालमा आएका समस्या हल गर्न आफूले उम्मेदवारी दिएको बताउनुहुन्छ ।

जिल्लाभर ४ लाख ७ हजार ९९२ मतदाता रहेका छन् । जसमध्ये १ लाख ८५ हजार ४६ महिला २ लाख २२ हजार ९४५ पुरुष र १ जना यौनिक तथा लैंङ्गिक अल्पसंख्यक छन् ।