
काठमाडौं । भारत सरकारले विभिन्न औषधि निर्यातमा लगाएको बन्देज खुला गरेको छ । सिटामोल बाहेकका २४ प्रकारका औषधि र त्यसको कच्चा पदार्थको निर्यात फुकुवा गर्ने निर्णय गरेको हो ।
विदेश व्यापार महानिर्देशनालयले सूचना निकाल्दै २४ प्रकारका औषधि र तिनको कच्चापदार्थ निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
महानिर्देशनालयले सूचनाअनुसार, टिनिडाजोल, मेट्रोनिडाजोल, भिटामिन बि १, भिटामीन बी ६, भिटामिन बि–१२, ओरनिडाजोल, नियोमाइसिन, क्लोरामफेनिकल, इरिथ्रोमाइसिनलगायत २४ वटा औषधिको निर्यातका लागि खुला गरिएको हो ।
पारासिटामोल र उक्त समूहमा पर्ने अरु दुई प्रकारका औषधिमाथि लगाइएको प्रतिबन्ध भने नखोलिएको विभिन्न समाचार संस्थाले जनाएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेरियाको औषधि अमेरिका पठाउन आग्रह गर्दै निर्यात गर्न नदिए आफूले पनि जवाफी कार्वाही गर्ने चेतावनी दिएका थिए ।
त्यसलगत्तै भारतीय विदेश मन्त्रालयले देशभित्र औषधिको संकट पर्नसक्ने आशंकामा निर्यातमा प्रतिबन्ध लगाएको भएपनि अब छुट गरिने जनाएको थियो ।
कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै भारतले गत मार्च ३ मा विभिन्न २६ किसिमका औषधि र त्यसको कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्