
काठमाडौं । नवप्रवेश टोली गुजरात टाइटन्स यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ ।
मंगलबार राति पुनेमा भएको खेलमा लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरातले प्ले अफमा स्थान पक्का गरेको हो ।
खेलमा गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।
लखनउका दिपक होडाले २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे । अन्तिम ब्याटर आभेश खानले २ छक्काको मद्दतले १२ रन जोडे ।
लखनउलाई सस्तैमा समेट्न गुजरातका राशिद खानले ४ विकेट लिए । यस्तै, साइ किशोर र यश दयालले २/२ तथा मोहमद शामीले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो ।
गुजरातका लागि शुबमन गीलले अविजित रहँदै ६३ रन जोडे । डेभिड मिल्लरले २६ तथा राहुल टेवाटियाले अविजित २२, हार्दिक पान्ड्याले ११ तथा म्याथ्यु वेडले १० रन बनाए ।
लखनउका आभेश खानले २ तथा मोहसिन खान र होल्डरले १/१ विकेट लिए ।
जितसँगै गुजरात १२ खेलमा १८ अंक जोड्दै लखनउलाई उछिन्न सफल भयो । दोस्रो स्थानमा रहेको लखनउको १६ अंक छ ।
प्रतिक्रिया दिनुहोस्