
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा आयात ३२ प्रतिशतले वृद्धि भई १४ खर्ब ६६ अर्ब ६६ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्ट्स, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात भने घटेको छ । ९ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई १ खर्ब ६० अर्ब ५७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७ खर्ब २४ अर्ब ७४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब २८ करोडले घाटामा रहेको छ ।
चालु वर्षको सुरुमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई ९ महिनाको अवधिमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.७ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्