
भक्तपुर । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ ।
मतदानका लागि बुधबार बिहानैदेखि घर फर्कनेको दुई तथा चारपाङ्ग्रे सवारीसाधनको लर्को लागेपछि अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौं सडक जाम भएको छ ।
बिहानैदेखि बस स्टेसनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो भने साना तथा ठूला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारीसाधनको समेत एकै पटक चाप बढेपछि अरनिको राजमार्ग घण्टौ जाम भएको हो ।
महानगरीय प्रहरी वृत्त जगातीका अनुसार बुधबार बिहान ४ बजेदेखिनै भक्तपुर हुँदै पूर्वतर्फ जाने यातायातको साधनको चाप ह्वात्तै बढेपछि सडक जाम भएको हो । दिनभरि नै सडक जाम हुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जनाएको छ ।
धुलिखेल अस्पताल जान थिमिबाट बिहान ८ बजे बस चढेका यात्रु ११ बजे मात्रै पुगेको भन्दै कम्तीमा दुई घण्टा जाममा परेको थिमि राधेराधेकी सन्तोषी खड्काले बताउनुभयो ।
मोटरसाइकल, माइक्रोबस, सुमो र ठूला बस गरी बुधबार मात्रै एक हजारभन्दा बढी यातायातका साधन पूर्वतर्फ गएको प्रहरीको भनाइ छ ।
काभ्रेबाट भक्तपुरतर्फ फर्किंदा समस्या नभए पनि काभ्रेतर्फ जाने सडक जाम भएपछि च्यामासिंह, ताथली नाला हुँदै बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।
दुईतर्फी बाटोबाट यातायातका साधन पठाए पनि सडक जाम भने दिउँसो २ बजेसम्म उत्तिकै रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्