१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीमा पटक–पटक झडपपछि काठमाडौंबाट हेलिकप्टरसहितको सेना परिचालन


35.191k
Shares

सर्लाही । स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिकामा राजनीतिक दलका नेता कार्यकर्ताबीच पटक–पटक झडप भएपछि एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

कौडेना गाउँपालिका–६, श्री जनता आधारभूत मतदान स्थलमा बिहानदेखि पटक–पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।

मतदान स्थलमा तत्काल आईपुगेको सेनाको टोलीले फायर नगरे पनि हतियार तेर्स्याएपछि स्थिति तत्काल शान्तिपूर्ण बनेको स्थानीय संचारकर्मी निरज यादवले जानकारी दिनुभयो ।

कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य केहीबेर अगाडीबाट सूचारु भएको थियो । मतदान सुचारु भएको केहीबेर पछि पुनः झडप भएको र सेनाको टोलीले घटनास्थल नियन्त्रणमा लिएकाे हाे ।

त्यस्तै धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा झडप भएपछि सुरक्षाकर्मीले एक दर्जन बढी हवाई फायर गरेका छन् ।

मतदान सुचारु गर्न अहिले त्यहाँ सर्वदलीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । धनकौलको उक्त मतदान स्थललाई नियन्त्रणमा लिन काठमाडौंबाटै नेपाली सेनाको विशेष टोली हेलिकप्टरबाट उत्रिएको छ ।

जिल्ला स्थित अधिकांश मतदान केन्द्रहरूमा भने मतदान कार्य सुचारु रहेको प्रहरीले जनाएको छ । सर्लाहीमा ३१८ मतदान स्थल अन्तर्गत ५९९ मतदान केन्द्र रहेका छन् ।

मतदानबाट ११ नगरपालिका र ९ गाउँपालिका गरी २० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा २०० वडाध्यक्ष एवं ८०० जना वडा सदस्य गरी एकहजार ४० जना जनप्रतिनिधि चुनिने छन् । चारलाख ७४ हजार ४३९ मतदाता रहेका छन् ।