१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सकियो चुनावी महायज्ञ, मतदाताको एउटै स्वर– ‘विकास’


234
Shares

काठमाडौं । मतदानमा सहभागी मतदाताहरूको एउटै स्वर छ– विकास ।

उनीहरू आफ्नो सरोकारका विषयमा जनप्रतिनिधिहरूले सहयात्रा गरेको हेर्न चाहन्छन् । आफ्नो मतले विजयी प्रतिनिधि सुशासनप्रति प्रतिबद्ध होस् भन्ने चाहन्छन् ।

छिटफुट घटनाबाहेक देशैभरी स्थानीय निकायको मतदान शान्तिपूर्ण तवरमा सकिएको छ । अबको केही दिनपछि जनताले चुनेका हजारौं प्रतिनिधिले आफ्नो पदमा बहाली गर्ने छन् ।

हुन त विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गरेका उम्मेदवारहरूले पार्टीको घोषणापत्रलाई आफ्नो प्रस्थानविन्दु मान्ने गरेका छन् । तर, स्थानीय निकायको चुनावमा जनताका स्थानीय आवश्यकताले निर्णायक महत्व राख्छ ।

त्यसैले मतदाताहरू झण्डा, वाद र दलीय घोषणापत्रमार्फत दिइने आश्वासनको पुलिन्दाभन्दा व्यक्तिको विकासमा ठोस सक्रियता चाहन्छन् ।

काठमाडौं उपत्यकाका मतदान केन्द्रमा किशोरकिशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्ण मतदान गरे । दानहरूमा महादान मानिने पाँच वर्षपछिको यो क्षणलाई मतदाताले पर्वका रूपमा ग्रहण गरेको देखियो ।

सीतापाइला घर भएकी इन्द्रमाया श्रेष्ठ १ सय १ वर्षकी हुनुभयो । उमेरले एक शताब्दी काटिसकेकी इन्द्रमाया हाम्रोभन्दा राम्रोलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ ।

इन्द्रमाया जस्तै ८३ वर्षीया ज्ञानीमाया श्रेष्ठ पनि विकास नै आफ्नो पहिलो र अन्तिम एजेण्डा भएको बताउनुहुन्छ ।

उम्मेदवार पनि मतदातालाई धोका हुने काम आफूहरूबाट नहुने विश्वास दिलाउँछन् । स्थानीय तहको समस्या पूरा गर्नू चुनावपछिको पहिलो प्राथमिकता रहेको उनीहरूको बुझाइ छ ।

कतिपय मतदाताले त चुनिने जनप्रतिनिधि स्थानीय भएकाले आफ्ना कुरा नसुने प्रतिकार गर्ने धम्की दिएका छन् । उनीहरू आफ्ना कुरा जनप्रतिनिधिले सुनेर त्यसै अनुसारको काम गरिदेओस् भन्ने चाह राख्छन् ।

चुनावको यो महायज्ञमा जनताले मतरूपी चरु हालेर आफ्नो कर्तव्य निर्वाह गरेका छन् । त्यो विश्वासलाई जनप्रतिनिधिले कर्मको माध्यमबाट सिञ्चनु आवश्यक छ ।