
काठमाडौ । शुक्रबार देशभरका ७५३ स्थानीय तहमा जनप्रतिनिधि छान्नका लागि मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजे सम्मको समय तोकेको थियो । छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोग श्रोतले इमेजखबरलाई जानकारी दिएको छ ।

आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको निर्धारित समय छुट्याएपनि ५ बजे अघि लाइनमा बसेकाहरुले मतदान गर्न पाउनेछन् । वर्षा लगायत अन्य कारणले कतिपय स्थानमा मतदान प्रभावित भएको थियो । समग्रमा देशैभर कति प्रतिशत मत खस्यो भन्ने आयोगले सार्वजनिक गरिसकेको छैन । यो निर्वाचनले देशभरमा ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित गर्नेछ । जसमध्ये ३ सय ९० जना भने निर्विरोध निर्वाचित भैसकेका छन् । बिभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी १ लाख ४५ हजार ११ जना उम्मेदवारले बिभिन्न पदमा प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गरेकामा ३५ हजार २ सय २१ जना निर्वाचित हुँदा बाँकी भने पराजित हुन पुग्नेछन् ।

७५३ स्थानीय तहमा महानगर पालिकाको संख्या ६,उपमहानगर पालिकाको संख्या ११,नगरपालिकाको संख्या २७६ र गाउँ पालिकाको संख्या ४६० रहेको छ । अब आज निर्वाचन सम्पन्न भएका स्थानीय तहमा उम्मेदवारी दिने सबैको भविष्य मतपेटिकामा कैद भइसकेको छ । नेपालमा प्रजातन्त्र प्राप्तपछि एकै चरणमा स्थानीय तह निर्वाचन भएको यो पहिलो पटक हो । मुलुकमा संघीयतामा गएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । यसअघि २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो ।
त्यतिबेला निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आउँदो जेठ ५ गते सकिदैछ । ६ गतेबाट नयाँ निर्वाचित जनप्रतिनिधिले स्थानीय तहको कार्यभार सम्हाल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्