
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ मा पुनः मतदान हुने भएको छ ।
निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिनुभयो । अब निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्वदलिय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने छन् ।
जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले आरोप लगाएका छन् ।
उनिहरुले निर्वाचन अधिकृतको कार्यालय बरहथवामा दर्ता गराएको संयुक्त लिखित निवेदनमा जसपाका उम्मेद्वार रामविश्वास राय लगायतले नेकपा माओवादी केन्द्रका वीरेन्द्र राय लगायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख छ ।
वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा जम्मा एकहजार ९५४ मतदाता भएपनि त्यहाँ शुक्रबार साँझसम्म ३७२ मत मात्र खसेको थियो । १७ नम्बर वडाको विवादका कारण बरहथवा नगरपालिकाको मतगणना हुन सकेको थिएन । बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले प्रचलित ऐन नियम अनुसार सर्बदलिय बैठक राखेर पुनः मतदानको मिति तय गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्