
काठमाडौं । सूचनाप्रविधिको सशक्त प्रयोग र काठमाडौंलाई स्मार्ट महानगर बनाउने चुनावी नारा चलिहँदा दुईहजार मत गन्न दुई दिन लगाउने शैलीको व्यापक आलोचना हुन थालेको छ ।
कछुवाको गतिसँग तुलना हुनु्पर्यो भने काठमाडौ महानगरको मतगणना उदाहरण दिँदा फरक नपर्ने भएको छ । दुईदिन मत गन्दा एउटा वडाको समेत अन्तिम परिणाम आउन सकेको छैन ।
चुनावअघि ठूलो मतपत्र, अनगिन्ती निर्वाचन चिन्हले धेरै मतदाता झुक्किएर मत बदर हुने त्रास थियो । तर, बदर मत कम भएर मतदाताले इज्जत जोगाउँदा मतगणनाको गति सबैका लागि टाउको दुखाई भएको छ । उनीहरू मतगणनास्थलमै आएर असन्तुष्टि पोख्न थालेका छन् ।
काठमाडौं महानगरको मेयरमा प्रारम्भिक अग्रता स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता लिएका छन् । युवाहरूमाझ लोकप्रिय उनको परिणामप्रति किशोर र युवाहरूको बढी चासो छ । मतदानदेखि मतगणना शैलीप्रति उनीहरूको असन्तुष्टि छ ।
पार्टीहरूको महाधिवेशनमा विद्युतीय मतदान गरेका तीनै दलहरू स्थानीय, संघीय र प्रदेशका चुनावमा हाइटेक प्रविधि रुचाउँदैनन् ।
काठमाडौ महानगरको जनप्रतिनिधिको छनोट मुलुककै ऐना भएकाले हरेक तह र तप्काका नागरिकमा हुटहुटी देखिन्छ । सवै सूचना हातमै पाउने नागरिकहरू मतगणनाको गति नबढ्दा खिन्न छन् ।
टीभी, सामाजिक सञ्जालमा फोटो देखेका तर प्रत्यक्ष नभेटेका उमेदवारसँग प्रत्यक्ष भेटघाट गर्न पनि मतदाता मतगणनास्थलमा आएका भेटिए ।
प्रश्न धेरै छन्, उत्तर कम छ । निर्वाचन आयोग छोटो समयमा गरिएको तयारीले प्रविधिमैत्री बन्न नसकेको स्वीकार्छ । जसले जे भने पनि सूचनाप्रविधिको युगमा देखिएको यो शैली सभ्यतामाथिकै उपहास हो ।
प्रतिक्रिया दिनुहोस्