१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चुनावी माहोलमा इन्धनको मूल्य बढ्दा उपभोक्तामाथि थप पीडा


182
Shares

काठमाडौं । नेपाली जनता चुनावी माहोलमा अलमलिएका बेला सरकारले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ ।

चुनावी घोषणापत्र मार्फत जनताको जनजीवन सहज बनाउने कसम खाएको मसी सुक्न नपाउँदै पटक–पटक इन्धनमा गरिएको मूल्य वृद्धि जनताको ढाड सेकिने निश्चित छ । गाडी भाडादेखि ढुवानी महँगिदा त्यसको प्रभाव चुल्होमा पर्नेछ ।

वैशाख ३० गते आफ्नो भाग्य भविष्यको भरोसा राजनीतिक दलहरूमाथि सुम्पिएका मतदाताले भोट हालेकै भोलिपल्ट इन्धनमा मूल्यवृद्धिको अप्रिय समाचार सुन्नुपर्‍यो । सरकारले अप्रत्याशित पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँ बढाएर आफ्नो वचन उल्लंघन गरेको छ ।

मूल्यवृद्धिसँगै अब एक लिटर पेट्रोलको मूल्य १ सय ७० पुगेको छ । डिजेल र मट्टितेल एक लिटर किन्न १ सय ५३ खर्चनुपर्ने भएको छ । मूल्य समायोजनपछि पनि निगमको घाटा मासिक ४ अब २५ करोड यथावत रहनेछ ।

इन्धनमा मूल्य बढ्नासाथ बजारमा त्यसको तरङ्ग शुरु भइसकेको छ । दैनिक उपभोग्य सामग्री, सार्वजनिक यातायातमा तत्काल त्यसको असर देखिनु स्वभाविक हो । मूल्य वृद्धिले यातायात क्षेत्र प्रभावित हुने स्वयं व्यवसायीको भनाइ छ । यसले सार्वजनिक यातायातको मूल्यवृद्धि हुने देखिएको छ ।

मूल्य बढ्नासाथ पेट्रोलपम्प पुगेका उपभोक्ताहरूको हिसावकितावमा नै तलमाथि पर्ने गरेको छ । यति लिटर भर्ने भनेर अर्डर गर्ने उनीहरू पैसाले नधानेपछि खुम्चिने गरेको पेट्रोलियम व्यवसायीहरू बताउँछन् ।

त्यसै पनि व्यवसायीहरूको सिण्डिकेटले मनलाग्दी मूल्यवृद्धिको चपेटामा पर्दै आएका उपभोक्ताका लागि चरणवद्ध रूपमा भएको इन्धनमार्फत थपिने महँगीले अत्यास बढाएको छ । उनीहरू दैनिकी धान्नै मुस्किल भएको बताउँछन् ।