
काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ ।
एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति निकाली सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेको निष्कर्ष निकाल्नुभएको छ ।
‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ ।’ – विज्ञप्तिमा भनिएको छ ।
सत्ता गठबन्धनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत एमालेको आरोप छ । निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको गम्भीर आरोप पनि एमालेले लगाएको छ ।
एमाले केन्द्रीय कार्यालय र सम्बन्धित उम्मेदवारहरुले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका निवेदन अनुसार पुनः मतदान र मतगणना गराउन एमालेले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्