
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा वक्तव्य जारी गर्नुभएको छ ।
उहाँले गत महिना नयाँदिल्लीमा भएको महत्वपूर्ण वार्तापछि आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि भेट्न इच्छुक रहेको बताउनुभएको हो । प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा सोमबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउँदै हुनुहुन्छ ।
मोदीले वक्तव्यमा जलविद्युत, विकास, सञ्जाल विकासलगायत क्षेत्रमा दुई देशबीच सहकार्य निरन्तर जारी रहने उल्लेख गर्नुभएको छ । नेपालसँगको सम्बन्ध अतुलनीय रहेको उहाँले जिकिर गर्नुभएको छ ।
भारत र नेपालबीच पुरानो सभ्यतादेखि नै जनस्तरको सम्बन्ध र सम्पर्क रहँदै आएको उल्लेख गर्दै उहाँले यसले आफूहरूको निकट सम्बन्धको दीगो संरचना निर्माण गरेको उल्लेख गर्नुभएको छ ।
दुई देशबीच शताब्दियौंदेखि झांगिँदै आएको सम्बन्धलाई आफ्नो यो भ्रमणले थप गहिरो बनाउने अपेक्षा लिएको बक्तव्यमा उल्लेख छ ।
मोदी सन् २०१४ यता पाँचौंपटक नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । यसपालि बुद्ध जयन्तीका अवसरमा उहाँ सोझै लुम्बिनी आउने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीमै भेटघाट हुने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्