१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बजेट अधिवेशन सञ्चालनबारे राजनीतिक दललाई सभामुख सापकोटाको अपील


208
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गर्नुभएको छ ।

सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मंगलबारदेखि सुरु हुने संसदको अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गर्नुभएको हो ।

उहाँले आफ्नो कुराकानी नभएपनि कानूनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको आफूले जानकारी पाएको बताउनुभयो । सभामुख सापकोटाले जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरुका बिचमा समझदारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाले बजेट अधिवेशन मुल रुपमा बजेटमै केन्द्रीत हुने बताउनुभयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताउनुभयो ।

उहाँले सर्वसम्मत् भइसकेको विधेयकहरुलाई अगाडी बढाउनका लागि राजनीतिक दलहरुका बिचमा समझदारी भएमा त्यसलाई अगाडी बढाउन संसद सचिवालय तयार रहेको स्पष्ट पार्नुभयो ।

संघीय संसदको बजेट अधिवेशन मंगलबार अपरान्ह ४ बजे बस्ने गरी आव्हान गरिएको छ ।