२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कैलालीका ४ पालिकामा नागरिक उन्मुक्ति पार्टीको अग्रता, ३ मा कांग्रेस अगाडि


390
Shares

कैलाली । १३ स्थानीय तह रहेको कैलालीमा मंगलबार बिहानसम्म एउटा पालिकाको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बाँकी १२ पालिकामा भने मतगणना जारी छ । जिल्लाको चुरे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यस्तै, एकमात्र उपमहानगरपालिका धनगढीमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता छ । उहाँ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडभन्दा ३ हजार बढी मतले अगाडि हुनुहुन्छ । जिल्लाका चार पालिकामा भने रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि छन् ।

टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति अग्रस्थानमा रहेको हो । यस्तै, गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा कांग्रेस अग्रस्थानमा छ ।

गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा नेकपा माओवादी केन्द्र, बर्दगोरिया गाउँपालिकामा नेकपा एमाले र घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता गरिरहेका छन् ।