
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ९ महिना लामो प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गरेको छ ।
बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहरूलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको थियो ।
बैठक सुरु हुनासाथ विशेष समय लिएर बोेल्नुभएका एमाले सांसद प्रदीप ज्ञवालीले ज्ञवालीले मुलुक राष्ट्रिय शंकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न एमालेले विरोधको स्वरूपलाई परिवर्तन गरेको बताउनुभयो ।
देश गम्भीर संकटमा परेका बेला पनि सरकार सत्ता सेटिङमा व्यस्त भएको उहाँले आरोप लगाउनुभयो । ज्ञवालीले सत्ता सेटिङ सकिएको भए देश बचाउन एकजुट हुन आग्रह गर्नुभयो ।
ज्ञवालीले महंगीले हरेक नागरिकको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुरा र मुलुकको अर्थतन्त्रका सबै सूचकहरूमा रातो बत्ती बल्दै गरेको अवस्थाले पनि सरकारलाई छुन नसकेको बताउनु भयो । देशको स्थिति धेरै भयावह हुँदै गइरहेको उहाँको भनाइ थियो ।
सांसद ज्ञवालीले स्थानीय तह निर्वाचनमा नेकपा एमालेका कार्यकर्ताहरूमाथि सांघातिक आक्रमण हुँदा समेत सरकारले चासो नदेखाएकोप्रति पनि गुनासो गर्नुभयो ।
अदालतले कारबाही नगरे पनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेको भन्दै उहाँले विभाजनका कारकहरूको परीणामलाई आफूहरूले नियालिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्