
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । बुधबारसम्मको परिणाम अनुसार नेपाली कांग्रेस पहिलो स्थानमा देखिएको छ ।
अघिल्लो निर्वाचनमा पहिलो पार्टी बनेको र स्थानीय तहमा निकै मजबुत पकड रहेको नेकपा (एमाले) भने दोस्रो स्थानमा झरेको छ ।
नेकपा (माओवादी केन्द्र)ले आफ्नो शक्तिमा निकै सुधार गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी बलियो शक्तिको रूपमा उदाएको छ ।
तर, यो पटकको स्थानीय चुनावमा देशभर नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यकासाथ चुनावमा होमिएका पार्टीका शीर्षसहित प्रभावशाली नेताहरुले आफ्नै वडा भने जोगाउन सकेनन् ।
प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको गृहपालिका गन्यापधुराको वडा नम्बर १ मा कांग्रेसका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेस वीपीका उम्मेद्वार विजयी भए ।
पार्टीले कारबाही गरेपछि डडेल्धुरा कांग्रेसका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लले कांग्रेस वीपीको चुनाव चिह्न करुवा लिएर जिल्लाभरी उम्मेद्वार खडा गर्नुभएको थियो । सभापति देउवाको वडामा उनै करुवा चुनाव चिह्न भएका उम्मेद्वारले कांग्रेसका उम्मेदवारलाई पराजित गरे ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गर्नुभएको भक्तपुरको सूर्यविनायक वडा नम्बर २ मा एमालेलाई पराजित गरेर नेपाली कांग्रेस पुरै प्यानल विजयी भयो ।
उहाँकै निर्वाचन क्षेत्र झापाको दमक नगरपालिकामा पनि एमालेका उम्मेदवारले राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवारको कडा चुनौती सामना गर्नुपरेको छ ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको वडा टोखा नगरपालिकाको वडा नम्बर ६ मा पनि एमालेका उम्मेदवारलाई पराजित गरेर कांग्रेस उम्मेदवार विजयी हुनुभएको छ । पोखरेललाई स्थानीय तह निर्वाचनको लागि एमालेले काठमाडौं जिल्लाको चुनावी कमाण्डर समेत तोकेको थियो ।
अर्थमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माको गृहनगरको वडामा पनि माओवादी केन्द्रका उम्मेदवार पराजित भए । मुसिकोट वडा नम्बर ५ मा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार प्यानलसहित निर्वाचित भए ।
रुकुमपश्चिममा कांग्रेसलाई गठबन्धनमा सामेल गर्नबाट रोक्नुभएका शर्माको गृहनगर मुसिकोट र अर्को पालिका बाफिकोटमा समेत कांग्रेसले जितेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको गृह वडा सिन्धुपाल्चोकको बलेफी वडा नम्बर २ मा माओवादी केन्द्र कांग्रेससंग पराजित भयो ।
पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीको गृहनगर घोराही–१७ मा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भए ।
माओवादी केन्द्रका अर्का नेता गिरिराजमणी पोखरेल पनि आफ्नै वडा महोत्तरीको बर्दिबास–३ मा माओवादी केन्द्रका उम्मेदवार जिताउन असफल हुनुभयो ।
नेकपा एमालेका सचिव योगेश भट्टराईको वडा ताप्लेजुङको मौवा खोला–३ मा पनि एमालेका उम्मेदवार पराजित भए ।
प्रदेश नम्बर १ का मुख्यमन्त्रीसमेत रहनुभएका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको वडा भोजपुरको षडानन्द गाउँपालिका–११ मा आफ्नै पार्टीका उम्मेद्वार जिताउन असफल हुनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ मा आफ्नै पार्टीका उम्मेदवार जिताउन असफल हुनुभयो ।
कुनै बेला माओवादीमा सुदुरपश्चिममा एकछत्र राज जमाउन सफल एमाले सचिव लेखराज भट्टलाई पनि एमालेको कमाण्डरी फापेन । उहाँले गृहनगर गोदाबरी नगरपालिका आफ्नो पकडबाट उम्काउनुभयो ।
यो चुनावमा प्रमुख दलका कतिपय शीर्ष र प्रभावशाली नेताहरू वडामा जस्तै गृहपालिकामा पनि आफ्नो पार्टीका उम्मेदवार जिताउन असफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्