८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ : भट्टराई


0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटका सिद्धान्त तथा प्राथमिकताका बारेमा छलफल भएको छ ।

छलफलमा सहभागीहरुले संविधानको मर्म र भावनाअनुसार बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । बैठमा भाग लिँदै जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताउनुभयो । नेपालले भारतबाट निर्यातभन्दा १५ गुणा बढी आयात गरिरहेको भन्दै उहाँले सरकारले नयाँ सम्झौता गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

भट्टराईले निजी सम्पत्तिको अभिलेखीकरणका लागि सरकारले सम्पत्तिको स्वघोषणा कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो । उहाँले व्यक्तिगत सम्पत्तिमा एकपटक कर मिनाहा गर्नेगरी सम्पत्तिको स्वघोषणा कार्यक्रम सरकारसँग माग गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रगतिशील कर लगाएर मात्रै समाजवादको लक्ष्य पूरा हुनसक्ने बताउनुभयो । उहाँले विद्यमान कर प्रणालीमा सुधार गरी प्रगतिशिल कर प्रणाली लागू गर्न सरकारसँग माग गर्नुभयो ।

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताउनुभयो । उहाँले वर्तमान गठबन्धन सरकारसँग काम गर्ने क्षमता र इच्छाशक्ति दुबै नभएको आरोप लगाउनुभयो । भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने भनेर निर्देशन गरे पनि १० महिनामा ३० प्रतिशत भन्दा बढी खर्च गर्न नसकेको गुनासो गर्नुभयो ।

भट्टराईले अघिल्लो सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि बजेट छुट्याएको तर अहिलको अर्थमन्त्रीे त्यसबारे केही बोल्न नसकेको बताउनुभयो ।