१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१० पटकसम्म वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकार पराजित


8.671k
Shares

काठमाडौं । ललितपुर महानगरपालिका-१० मा १० पटकसम्म वडा अध्यक्ष पदमा ८१ वर्षीय नरसिंह व्यञ्जनकार विजयी हुनुभएकाे थियाे।

तर यसपटक भने उहाँ पराजित हुनुभएको हाे । २०७९ सालको स्थानीय तह निर्वाचनमा ११औं पटक वडा अध्यक्ष पदमा उहाँ स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उठ्नुभएको थियो । तर उहाँ यसपटक भने आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २ सय ८२ मत अन्तरले पराजित हुनुभएको हो ।

८१ वर्षीय नरसिंहले ५ सय ४३ मत प्राप्त गर्दा उहाँका ४४ वर्षीय भतिज नेपाली कांग्रेसका वडा अध्यक्षाका उम्मेदवार रविनमान व्यञ्जनकार ८ सय २५ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ। नरसिंह र रविनमानसँगै सो वडाको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभएका राप्रपाका वीरबहादुर तामाङले ८० मत र माओवादी केन्द्रका रघुनाथ दुलालले ४७ मत प्राप्त गरेर पराजित भएका छन् ।

नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बन्नुभएकाे थियाे। त्यतिबेला उहाँले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई पराजित गर्नुभएकाे थियाे । त्यसयता ललितपुर महानगरपालिका वडा नम्बर १० को नेतृत्व उहाँले नै गर्दै आउनुभएकाे थियाे । बहुदल आएपछिको पहिलो स्थानीय तहकाे चुनावमा उहाँ नेपाली कांग्रेसको तर्फबाट निर्विरोध निर्वाचित समेत हुनुभएकाे थियाे।

२०७४ सालको स्थानीय तहकाे चुनावमा पनि उहाँ स्वतन्त्र रूपमा नै चुनावमा विजयी हुनुभएकाे थियाे।