६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भयो : शिक्षामन्त्री पौडेल


403
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुग्नुभएका मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको हो । उहाँले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपनि त्यसलाई सच्याउने बताउनुभयो । मन्त्री पौडेलले गठबन्धनको पक्षमा उल्लेख्य जनमत प्रकट भएको पनि बताउनुभयो ।

मन्त्री पौडेलले माओवादी केन्द्र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताउनुभयो । संविधान र राजनीतिक प्रणाली अझैपनि खतरामा रहेको हुँदा गठबन्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।

मन्त्री पौडेलले कांग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको स्पष्ट पार्नुभयो । केही ठाउँमा त्यस्तो भएपनि सबै ठाउँमा नभएको उहाँको भनाई छ । उहाँले गठबन्धन सँग असन्तुष्ट रहेको नेकपा(एकीकृत समाजवादी)लाई गठबन्धनमै रहन आग्रह समेत गर्नुभयो ।

उहाँले गठबन्धनका कमी, कमजोरीहरुलाई सच्याएर अगाडी बढ्ने पनि बताउनुभयो । माओवादी केन्द्र पहिले भन्दा सुदृढ भएको उहाँले बताउनुभयो ।