२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ललितपुरको महालक्ष्मीमा एमाले गठबन्धन भन्दा निकै अगाडि


6.448k
Shares

काठमाडौं । स्थानीय तहको जारी मतगणनामा ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार गठबन्धनका उम्मेदवार भन्दा निकै अघि बढेका छन् ।

महालक्ष्मीमा नेकपा एमालेबाट मेयरमा हरिगोबिन्द श्रेष्ठ र उपमेयरमा बीणा केसी सुवेदी उम्मेदवार रहनु भएको छ । त्यसैगरी गठबन्धनको तर्फबाट मेयरमा नेकपा माओवादी केन्द्रका शिव कट्टेल र उपमेयरमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन उम्मेदवार रहनु भएको छ । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका मेयर उम्मेदवार श्रेष्ठले ७ हजार ७१६ मत ल्याएर अग्रता लिनु भएको छ भने कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार कट्टेलले ४ हजार ६० मत प्राप्त गर्नुभएको छ । श्रेष्ठले कट्टेललाई ३ हजार ६५६ मतले पछि पार्नु भएको छ ।

त्यसैगरी उपमेयरमा एमालेकी केसीले ७ हजार ९०६ मत प्राप्त गर्दा गठबन्धनकी महर्जनलाई ६ हजार ८१७ मत आएको छ । महालक्ष्मीमा १० वटा वडा रहेका छन् । त्यसमा ८ वटा वडाको मतगणना सकिएको छ । त्यसमा नेकपा एमालेले १,२,३,४,८ र १० नम्बर वडामा वडा अध्यक्ष जितिसकेको छ । त्यसैगरी कांग्रेसले ५ र ९ नम्बरमा वडा अध्यक्ष जितेको छ । ६ र ७ नम्बर वडाको मतगणना जारी छ । महालक्ष्मीमा नेकपा एकीकृत समाजवादी कांग्रेस र माओवादीबीच गठबन्धन गर्ने प्रयास भएको थियो । तर अन्तिममा समाजवादीसँग कुरा नमिलेपछि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । एमाले एक्लै चुनावी मैदानमा होमिएको थियो ।

उता नेकपा एकीकृत समाजवादीले उपमेयर बाहेक मेयर र वडा अध्यक्ष्मा उम्मेदवारी दिएको थियो । तर मतगणना सकिएका कुनै पनि वडामा समाजवादीले जित हात पार्न सकेन भने मेयरमा उम्मेदवारी दिनु भएका नकुल थापा मतगणनामा तेस्रो नम्बरमा हुनुहुन्छ । बिगतमा माओवादीको गढ भनेर चिनिएको वडा नम्बर १० मा यसपटक एमालेले वडा अध्यक्ष सहित प्यानलै जितेको छ ।