
काठमाडौं । आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अध्यक्ष पदमा शुक्रबार उम्मेदवारीको घोषणा गरेका छन् ।
नेम्वाङले विभिन्न जिल्लाका सदस्य र केही एन्फा पदाधिकारीको उपस्थितिमा शुक्रबार आयोजित पत्रकार सम्मेलनबाट अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेम्बाङले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलको मर्म अनुसार नेपाली फुटबललाई अगाडि बढाउन नसकेको भन्दै फुटबल चलाउने योजना आपूmसँग रहेको भन्दै उम्मेदवारीको घोषणा गरेको बताए ।
एन्फाको अहिलेको नेतृत्वले पारदर्शिता र भ्रष्ट्राचारमा शुन्य सहनशीलता विपरित कार्य भइरहेको आरोप लगाउँदै बर्तमान अध्यक्ष असक्षम भएको उनले बताए ।
यस्तै, शुक्रबारकै पत्रकार सम्मेलनमा विरबहादुर खड्काले नेम्बाङलाई सहयोग गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको घोषणा गरे । पत्रकार सम्मेलनमा खड्काले आफूलाई खेलाडीहरुले नै चुनावमा उठ्न प्रोत्साहन गरेको भन्दै उम्मेदवारी दिएको बताए ।
असार ६ गते हुने निर्वाचनका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने यस्तै बी डिभिजनबाट ११ क्लब, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौं क्लबसँग मताधिकार रहेको छ ।
प्रतिक्रिया दिनुहोस्