१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाको इन्टरनेशनल वुमन अफ करेज अवार्ड भूमिका श्रेष्ठलाई


325
Shares

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक अभियानकर्मी र कलाकार भूमिका श्रेष्ठले अमेरिकाको इन्टरनेशनल वुमन अफ करेज २०२२ अवार्ड प्राप्त गर्नुभएको छ ।

काठमाडौंमा अमेरिकी दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले श्रेष्ठलाई सो अवार्ड हस्तान्तरण गर्नुभएको हो ।

अवार्ड ग्रहण गर्दै श्रेष्ठले यो पुरस्कारले लैंगिक समानताका लागि अझ सशक्त रूपमा लाग्ने प्रेरणा मिलेको बताउनुभयो ।

सो अवसरमा नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री एवं तिब्बत मामिलाका विशेष संयोजक उज्रा जियाले अमेरिका सधैं मानव अधिकार र लोकतन्त्रको पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा राजदूत बेरीले नेपालका यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि भूमिकाले गरेको योगदानको चर्चा गर्नुभयो ।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कार नेपालले दोस्रो पटक लगातार पाउन सफल भएको हो । गत वर्ष एसिड आक्रमण विरुद्धको अभियानका लागि मुस्कान खातुनलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

तस्बिरहरू : नेपालका लागि अमेरिकी दुतावास