२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


महिला टी–ट्वान्टी क्रिकेट : युगान्डालाई १ सय २४ रनको लक्ष्य


143
Shares

काठमाडौं । जारी सिजनमा युगान्डाविरुद्धको पाँचौं तथा अन्तिम टी २० खेलमा नेपालले एक सय २४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २३ रन बनाएको हो । खेलमा नेपालले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्यो ।

जारी सिरिजमा नेपाली टिमले पहिलो विकेटका लागि गरेको उच्च साझेदारी हो । नेपालकी ओपनर सिता रानामगर ब्यक्तिगत १७ रनमा बोल्ड भइन् ।

नेपालले पावरप्लेमा ३६ रन बनाएको थियो । नेपालको स्कोर ८२ रन हुँदा दोस्रो विकेट गुमायो । उपकप्तान इन्दु बर्मा आठ रनमा आउट भइन ।

त्यसपछि ज्योती पाण्डे अर्धशतक बनाउन एक रनबाट चुकिन् । उनी ४९ रनमा आउट हुँदा नेपालले ९६ रनमा तेस्रो विकेट गुमायो ।

त्यसपछि कप्तान रुविना क्षेत्रीले खाता खोल्न नसक्दै आउट हुँदा नेपालले ९८ रनमा चौथो विकेट गुमायो । नेपालको स्कोर एक सय तीन रन हुँदा पाँचौं विकेट झर्यो ।

डोलि भट्ट खाता खोल्न नपाउँदै रनआउट भइन । नेपालका लागि कविता जोशीले १८ रन बनाइन । उनले १५ बलमा दुई चौका र एक छक्का प्रहार गरिन् । यस्तै अप्सरी बेगमले ११ रन जोडिन् ।

युगान्डाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

अन्तिम खेल नेपालका लागि प्रतिष्ठामा सीमित छ । युगान्डाले दुई खेल अगावै सिरिज जितिसकेको छ । दुबै टोली अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा रहेका छन् ।

पाँच खेलको सिरिजमा युगान्डा ३–१ ले अघि रहेको छ ।