
काठमाडौं । स्थानीय तह निर्वाचनको राप अझै सेलाएको छैन । नयाँ जनप्रतिनिधि चुनिएका छन् ।
युवा, रोजगारी र विकासलाई प्राथमिकता नदिने जनप्रतिनिधि कोही छैनन् । तर, दैनिक विदेशीने युवाहरूको संख्या हेर्दा उनीहरूले नयाँ जनप्रतिनिधिका वाचालाई सजिलै पत्याए जस्तो देखिन्न ।
हजारौं युवायुवती रोजगारी र अध्ययनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन्छन् । तीमध्ये पनि रोजीरोटीकै लागि बाहिरिनेको संख्या धेरै छ ।
परिवार पाल्न, आर्थिक समृद्धिको बाटो रोज्न र शिक्षाको लागि विदेशीनुको विकल्प नभएको उनीहरुको भनाइ छ । राजनीतिप्रतिको अविश्वास र कामको अवसर नपाउँदा विदेशीनुको विकल्प नभएको पीडा उनीहरूको मनमा छ ।
राजनीतिक दलका सदस्य नभइ कुनै पनि काम सम्पन्न गर्न नेपालमा सहज नभएको उनीहरूको गुनासो छ । सहज रूपमा कुनै पनि काम नहुने र केही गर्नेलाई प्रोत्साहन भन्दा बढी दुरुत्साहन भएकाले पनि विदेशीन लागेको केही बताउँछन् ।
पर्याप्त नयाँ उद्योगधन्दा नखुल्नु, भएका पनि बन्द हुँदा आशा भन्दा निराशा बढेको छ । यो अवस्था सम्हाल्न नयाँ सोच भएका युवा वर्ग नै नेतृत्वमा आउनुपर्ने उनीहरूको भनाइ छ ।
बढ्दो महंगी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा बस्नुपर्दा दक्ष तथा अदक्ष युवा खाडी राष्ट्रमा धकेलिएका छन् । विदेश जानुलाई सामाजिक तथा आर्थिक हैसियतसँग जोडेर हेरिने भएकाले पनि युवायुवती दवाबमा छन् ।
काम गरेर पढ्न सक्ने अवस्था नभएकाले पनि पढाइसँगसँगै राम्रो आम्दानीको लागि विदेशीन परेको विद्यार्थीहरूको भनाइ छ । केही भने पढ्नको लागि मात्र विदेशीन लागेको बताउँछन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक बर्ष २०७८/७९को पहिलो दश महिनामा ५ लाख १० हजारभन्दा बढीले श्रम स्विकृति लिएका छन् ।
हाल दैनिक १५ सयदेखि २ हजार जना विदेश जाने गरेकोमा अधिंकाश रोजगारीकै लागि खाडी मुलुक जाने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख भीम ढकाल बताउनुहुन्छ ।
रेमिन्ट्यान्सले अर्थतन्त्रमा योगदान पुर्याउनुलाई दलहरूले गौरवको विषय ठानिरहँदा कतिपय उर्जाशील युवा बाकसमा फर्किएको तीतो यथार्थतर्फ कसैको ध्यान गएको देखिँदैन ।
नेपालमै उद्यम गर्ने वातावरण बनाएर यहीँ रोजगार दिन सके देश परनिर्भर हुदैन थियो कि !
प्रतिक्रिया दिनुहोस्