
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा विजयी भएको गठबन्धनले विजय र्याली निकालेको छ ।
गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राई निर्वाचित भएका थिए ।
नेपालगन्जको जमुनाहाबाट शनिबार बिहान सुरु भएको र्यालीले नगरको विभिन्न ठाउँको परिक्रमा गरेको छ ।
र्यालीमा बाँके क्षेत्र नम्बर २ का सांसद एवं जसपाका नेता मोहम्मद ईस्तियाक राई, लुम्बिनी प्रदेशका वन मन्त्री एवम् कांग्रेस नेता सुरेन्द्र हमाल, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपालगन्जका नगर प्रमुख विष्ट, उपप्रमुख राई लगायत नवनिर्वाचित जनप्रतिनधी, गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको ठूलो संख्यामा सहभागिता रहेको छ ।
नेपालगन्जको नगर प्रमुख र उपप्रमुख पदमा पाँच दलबीच गठबन्धन भए पनि २३ वटा वडामा भने छुट्टाछुट्टै लडेका थिए । नेपालगन्जको वडामा गठबन्धन दलले बहुमत प्राप्त गरेका छन् ।
२३ वटा वडा रहेको नेपालगन्ज उपमहानगरपालिकामा जसपाले १ उपमेयरसहित ६ वटा वडा, नेपाली कांग्रेसले १ मेयरसहित ५ वटा वडा, एमालेले ५ वटा वडा, माओबादी केन्द्रले ४ वटा वडा र राप्रपाले ३ वटा वडा जितेको छ ।
आठवटा पालिका रहेको बाँकेमा अहिलेसम्म सातवटा पालिकाको नतिजा आइसकेको छ । नेपाली कांग्रेसले ५, जसपा र माओवादीले १–१ वटा पालिका जितेका छन् ।
कोहलपुर नगरपालिकामा मतगणना जारी छ । त्यहाँ पनि नेपाली कांग्रेसले अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्