१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


सिद्धु बने कैदी नम्बर २४१३८३, हत्या मुद्दाका ८ कैदीसँग बास


10.322k
Shares

एजेन्सी । भारतका पूर्व क्रिकेटर एवं राजनीतिज्ञ नवजोतसिंह सिद्धु कैदी नम्बर २४१३८३ बनेर जेल गएका छन् । उनलाई ३४ वर्ष पुरानो मुद्दामा एक वर्षको लागि जेल चलान गरिएको हो ।

सिद्धुले शुक्रबार साँझ पटियाला सेन्टर जेल सेसन अदालतमा आत्मसमर्पण गरेका हुन् । स्वास्थ्य परीक्षणपछि उनलाई जेल चलान गरिएको हो ।

कैदी नम्बर दिएसँगै सुरुमा पुस्तकालय परिसरमा राखिएको उनलाई पछि भने ब्यारेक नम्बर १० मा हत्या मुद्दाको ८ जना कैदीसँगै राखिएको छ ।

जेलमा रहुन्जेल उनी सिमेन्टले बनेको पलङमा सुत्नेछन् भने खानामा दाल र रोटी दिइनेछ । साथै जेलभित्र उनले सेतो कपडा लगाउनुपर्नेछ ।

सिद्धुलाई जेलमा एउटा कुर्सीटेबल, एउटा दराज, दुई वटा पगडी, एउटा कम्बल, एउटा ओछ्यान, तीन वटा भित्री वस्त्र, दुई ओटा टावल, एउटा झुल, एउटा कापी, पेन, एक जोर जुत्ता, दुई वटा सिरानी र चार कुर्ता पाइजामा दिइनेछ ।

सिद्धुको कलेजोमा र खुट्टामा समस्या भएको र गहुँबाट पनि एलर्जी भएकाले उनले विशेष खानेकुरा माग गरेका छन् ।

सिद्धु क्रिकेटर भएको समय सन् १९८८ डिसेम्बरमा उनी साथीसँग घर नजिकैको मार्केटमा गएका थिए । मार्केटमा ६५ वर्षीय गुरमान सिंहसँग पार्किङको विषयमा भनाभनको क्रममा ठूलै झडप भयो ।

झडपका क्रमा घाइते भएका गुरमान अस्पताल भर्ना भए र उनको उपचारको क्रममा मृत्यु भयो । त्यसबेला जिल्ला अदालतले नियतबस हत्या नभएको भन्दै सिद्धुलाई निर्दोष ठहर गरेको थियो ।

तर, उच्च अदालतले उनलाई दोषी मानेर ३ वर्षको जेल सुनाएको उनी सर्वोच्च गएका थिए । सर्वोच्चले सन् २०१८ मा सिद्धुलाई निर्दोष सावित गर्दै एक वर्षको जेल सजाय सुनाएको थियो ।