
परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा हुन गइरहेको कार्यपालिका सदस्य निर्वाचनका लागि एमालेसहितका ३ दलले गठबन्धन गरेर सदस्यको भागबण्डा गरेका छन् ।
त्यहाँ एमालेले मेयर र राप्रपाले उप–मेयर जितेको छ । बहुमत नपुग्ने भएपछि अप्ठ्यारोमा परेको एमालेले आफ्नै अगुवाइमा वार्ता टोली गठन गर्दै अन्य दलसँग बैठक बसेर सदस्यको भागबण्डा टुगाएको हो ।
बैठकमा एमालेसहित जनता समाजवादी पार्टी(जसपा) र राप्रपाका जिल्लादेखि केन्द्रीय नेताहरूको सहभागिता थियो ।
नगरपालिकाको कार्यपालिकामा ८ जना सदस्य रहने व्यवस्था छ । ५ जना महिला सदस्य र ३ जना दलित/अल्पसंख्यकबाट सदस्य रहने छन् ।
त्यसका लागि जसपाले ५, एमालेले २ र राप्रपाले १ सदस्य पाउने गरी सहमति भएको एमाले वार्ता टोली सदस्य एंव पार्टी जिल्ला सचिव धीरज शर्मा बस्यालले बताउनुभयो ।
गाउँपालिकामा भने ४ जना महिला सदस्य र २ जना दलित/अल्पसंख्यकबाट गरी कुल ६ सदस्य निर्वाचित हुने व्यवस्था छ ।
१८ वडा रहेको नगरपालिकामा प्रमुख÷उपप्रमुखसहित ९२ जना जनप्रतिनिधि चुनिएका छन् । बहुमतका लागि ४६ जनप्रतिनिधिहरुको आवश्यक छ ।
३ दलबाट निर्वाचित हुने जनप्रतिनिधिको संख्या ६३ छ । जसमा एमाले र जसपाका २५/२५ जना र राप्रपाका १३ प्रतिनिधिहरू चुनिएका छन् ।
नेपाली कांग्रेसका २८ जना र स्वतन्त्रका १ जना जनप्रतिनिधि चुनिएका छन् । कार्यपालिका सदस्य चयनका लागि हुने निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु मतदाता हुन् ।
कार्यपालिका गठनका लागि ११ गते मनोनयन र १९ गते निर्वाचन तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्