१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हृदयेश त्रिपाठी र देबेन्द्र कँडेलले आफ्नै पालिका जोगाउन सकेनन्


936
Shares

परासी । केन्द्रीय राजनीतिमा पहुँच बनाउँदै आएका पश्चिम नवलपरासीका दुई केन्द्रीय नेताहरुले आफ्नै पालिकाको साखलाई जोगाउन सकेनन् । पूर्वमन्त्री एंव जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी र पूर्व गृहराज्यमन्त्री एंव नेपाली कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कँडेलले आफ्नै पालिकामा पार्टीका उम्मेदवारलाई जिताउन नसकेका हुन् । त्रिपाठी र कँडेल नवलपरासीको फरक÷फरक निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्यसमेत हुन् ।

जिल्लामा आफ्नो राजनीतिक दबदबा राख्न खोज्ने यी दुई नेताले आफ्नै पालिका जोगाउन नसकेपछि जिल्लाको राजनीतिक वृत्तमा उनीहरुको आलोचना सुरु भएको छ । तत्कालीन राजपा छाडेर सूर्य चुनाव चिन्हबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका त्रिपाठीले अहिले नयाँ दल (जप्रपा) दर्ता गरेर स्थानीय निर्वाचनमा सहभागी हुनु भएको हो । लामो समयसम्म मधेसवादी दलमा रहेर राजनीति गर्नु भएका त्रिपाठीले पछिल्लो पटक सूर्य चुनाव चिन्हबाट चुनाव लडेदेखि नै कार्यकर्ता माझ आलोचित हुँदै आउनु भएको थियो ।

चुनाव अवधिभर गृहपालिकामा रहेर उम्मेदवार जिताउन कसरत गरेका त्रिपाठीले आफ्नै गृहपालिका प्रतापपुर गाउँपालिका जोगाउन सक्नु भएन । ९ वडा रहेको प्रतापपुरमा नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्षसहित ४ वडा जित्दा त्रिपाठीको पार्टी १ वडाध्यक्षमा सिमित बन्न पुग्यो । त्रिपाठीका अध्यक्ष पदका उम्मेदवार करम हुसेन मियाँ कांग्रेसका उमेशचन्द्र यादवसँग २२ सयको फराकिलो मतान्तरले पराजित हुनु भएको थियो । उपाध्यक्षमा त्रिपाठीका उम्मेदवार अञ्जुकुमारी चौधरी कांग्रेसकी मानकुमारी चौधरीसँग १ हजार ६४६ को फराकिलो मतान्तरले पराजित हुनु भयो ।

यसअघि कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी अञ्जुलाई पार्टीले टिकट नदिएपछि त्रिपाठीले आफ्नो दलमा ल्याएर उम्मेदवार उठाउनु भएको थियो । तै पनि उहाँले सफलता पाउन सक्नु भएन् ।

त्यस्तै पार्टीभित्र स्व. खुमबहादुर खड्काको समुहका नेता भनेर चिनिनु हुुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य कँडेलले पनि आफ्नै पालिका पाल्हीनन्दन गाउँपालिकामा पार्टीका उमेदवारलाई जिताउन सक्नु भएन् । अघिल्लो पटक वडामा उम्मेदवार जिताउन नसकेर आलोचना खेप्नु भएका कँडेलको गृहवडामा अहिले भने कांग्रेसले जितेको छ ।

अघिल्लो पटक पनि पालिका अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो । यसपटक पनि फेरि कांग्रेसलाई हराउँदै माओवादी केन्द्रका पुरानै उमेदवारले बाजी मारेका छन् । उपाध्यक्षमा भने दुवै पटक कांग्रेसले जितेको छ । कांग्रेसका अध्यक्ष पदका उमेदवार राजेन्द्र प्रसाद सहानीलाई माओवादी केन्द्रका बैजु प्रसाद गुप्ता (दीपक) ले ८६ मतको झिनो मतान्तरले पराजित गर्नुभयो ।

कँडेलको निर्वाचन क्षेत्रमा पर्ने ४ पालिका (पाल्हीनन्दन, सरावल गाउँपालिका, सुनवल नगरपालिका र रामग्राम नगरपालिका सबैमा कांग्रेस पराजित भएको छ । आफ्नै निर्वाचन क्षेत्रका कुनै पालिकामा सफलता हासिल नभएपछि कांग्रेस कार्यकर्ता माँझ कँडेलको पनि आलोचना सुरु भएको छ ।

केन्द्रीय चुनावमा सधैं यी दुई नेता नै उम्मेदवार बन्दै आएका छन् । यसपटक पनि दुई नेताहरु संघीय चुनावमा प्रतिस्पर्धा गर्ने सोंचमा रहेको बताइएको छ । तर, स्थानीय तहको निर्वाचनको परिणामले यी दुई नेतालाई अप्ठ्यारोमा पार्न सक्ने जिल्लाको राजनीति वृत्तमा आंकलन गर्न सुरु गरिएको छ ।