२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिमका ८६ पालिकाको नतिजा सार्वजनिक


169
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

सार्वजनिक मतपरिणाम अनुसार नेपाली काँग्रेस प्रदेशमा पहिलो पार्टी बनेको छ । नेपाली कांग्रेसले ३९ स्थानीय तहमा विजयी भएको छ ।

कांग्रेस डोटीमा ७, बझाङमा ६, अछाममा ६, डडेल्धुरामा ५, कञ्चनपुरमा ५, त्यसैगरी बैतडीमा ४, बाजुरामा तीन र कैलालीका तीन स्थानीय तहमा विजयी भएको हो । २०७४ सालमा कांग्रेसले प्रदेशका ३८ स्थानीय तह जितेको थियो ।

यस्तै, २०७४ सलामा प्रदेशमा ठुलो पार्टी बनेको नेकपा एमाले यसपटक दोस्रो स्थानमा झरेको छ । एमाले २५ पालिकामा विजयी हुँदा नेकपा माओवादी केन्द्रले १४ पालिकामा प्रमुख र अध्यक्ष जितेको छ ।

एमालेले दार्चुलाका ५, बाजुराका ५, बैतडीका ४, बझाङका ३, कञ्चनपुरका ३, कैलाली र अछाम २÷२ तथा डोटीको एक स्थानीय तहमा विजयी भएको हो । माओवादी केन्द्रले भने दार्चुलाका चार, बझाङ, डडेल्धुरा र कैलालीका दुई÷दुई, बैतडी, डोटी अछाम र कञ्चनपुरका एक/एक स्थानीय तहमा जितेको छ ।

पाँच महिना अगाडि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा चार र एकीकृत समाजवादीले दुई पालिकामा जित निकाल्दा दुई पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अब प्रदेशका दुई नगरपालिकाको अन्तिम मतपरिणाम मात्रै सार्वजनिक हुन बाँकी छ । अछामको साँफेबगर नगरपालिकामा कांग्रेस जितको नजिक पुगेको छ भने बाजुराको बुढीगंगा नगरपालिकामा बुथ कब्जा भएपछि फेरि मतदान गर्ने वा मतगणना गर्नेबारे सहमति जुट्न सकेको छैन् ।