
इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको गृहजिल्ला इलाम उहाँहरूको पकडबाट फुत्कँदै गएको छ ।
बैशाख ३० गते भएको स्थानी तह निर्वाचनको परिणामले अब इलामलाई खनाल र नेम्वाङका साथै एमालेको गढ भनिरहने स्थिति रहेन । २०४९ सालको स्थानीय निर्वाचनपछि नेपाली कांग्रेसले पहिलोपटक इलाम नगरपालिकामा धावा बोलेको छ ।
कांग्रेसले ९ वटा वडासहित बहुमत कायम गर्दै एमालेको विरासत भत्काइदियो । अघिल्लो निर्वाचनमा एउटा पनि सदस्य नजितेको कांग्रेसले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पनि फुत्काएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा यो गाउँपालिकामा एमालेले अध्यक्ष उपाध्यक्षसहित अधिकांश वडा जितेको थियो । तर अहिले भने एमालेले माई र देउमाईमा मुस्किलले शाख जोगाएको छ ।
यसअघि पराजित चुलाचुली गाउँपालिकामा पनि कांग्रेसले वर्चश्व कायम गरेको छ । सात पालिकामा आफ्नो उपस्थिति रहेको र ६० प्रतिशत जनप्रतिनिधि आफ्नै पार्टीको रहेको नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्का बताउनुहुन्छ ।
एमालेले भने पार्टी विभाजनलाई हारको प्रस्थानविन्दु ठानेको छ । पार्टी विभाजन नभएर एक भएको अवस्थामा आफूहरूले नै जितेको स्मरण गर्दै एमाले नेताहरूले एमाले नेताहरू दुईतर्फ लागेको फाइदा कांग्रेसलाई पुगेको दाबी गर्छन् ।
शीर्ष नेताहरूबीच जुँगाको लडाईंले मतदाता बिच्किँदाको फाइदा कांग्रेसले लिएको नेकपा एमालेका जिल्ला सहसचिव रविन्द्र सुवेदी बताउनुहुन्छ । पार्टीभित्रैबाट कतिपय स्थानमा अन्तरघात भएको उहाँको विश्लेषण छ ।
तर, यता मतदाताहरू भने यसअघिको नेतृत्वले वाचा पूरा नगर्दा नेतृत्व फेरेको बताउँछन् । मतदाताले नयाँ पार्टीको नेतृत्व खोज्नु र जनप्रतिनिधिले जनतामाथि बेवस्ता गर्नुले पनि अघिल्लो निर्वाचनभन्दा फरक परिणाम आएको स्थानीय कमल अधिकारी बताउनुहुन्छ ।
एमाले विभाजन नभएको २०७४ को स्थानीय तह निर्वाचनमा इलामका १० पालिकामध्ये ७ वटाको प्रमुख र ९ को उपप्रमुख जितेको थियो ।
सन्दकपुर गाउँपालिका पनि खनालकै निर्वाचन क्षेत्रमा पर्छ । सन्दकपुरको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुँदा खनालकै क्षेत्रको रोङ गाउँपालिकाको अध्यक्षमा पनि गठबन्धनका उम्मेदवार निर्वाचित भए ।
सदरमुकाम इलाम नगरपालिका गुमाउँदा भने नेम्वाङ र एमालेलाई ठूलो धक्का लागेको छ । मेयरमा कांग्रेस उम्मेदवार केदार थापा र उपमेयरमा पनि कांग्रेसकै विष्णुकुमारी लिम्बू दाहालले फराकिलो मातान्तरले विजयी भए ।
प्रतिक्रिया दिनुहोस्