१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इन्धनको मूल्यवृद्धिले दैनिकी प्रभावित, सरकार निर्लज्ज र नालायक भएको भन्दै उपभोक्ताको आक्रोशित


338
Shares

काठमाडौं । नेपाल आयल निगमले ३ हप्तामा ३ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि त्यसको प्रत्यक्ष प्रभाव जनताको दैनिकीमा परेको छ ।

त्यसमाथि खाना पकाउने ग्यासमा हठात २ सय रूपैयाँ वृद्धि गरिएको खबरले आमनागरिक आक्रोशित भएका छन् । आफ्नो हितका लागि मत दिएर स्थानीय प्रतिनिधि चुनेका नेपाली जनताले मत गणना नसकिँदै मूल्यवृद्धिको अपार उपहार पाएका छन् ।

अब आम उपभोक्ताले पेट्रोलको प्रतिलिटर १८०, डिजेल र मट्टितेलको मूल्य १६३ र खाना पकाउने एलपी ग्यासको एकैपटक १८ सय रुपैयाँ तिर्नुपर्नेछ । इन्धनमा यतिधेरै मूल्य बढाउँदा पनि आयल निगम मासिक साढे सात अर्ब घाटामा रहेको बताउँछ ।

स्थानीय निकायको चुनाव हुनु एक हप्ताअघि सरकारले पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैयाँ बढाएको थियो । मतदान सकिएको दुईदिन पछि फेरि लिटरमा दश रुपैयाँ बढाइएको थियो । ग्यासको मूल्य पनि बढेपछि प्रत्यक्ष असर हरेक भान्सामा परेको छ ।

इन्धनको मूल्यवृद्धिले शिक्षा, स्वास्थ्यदेखि यातायात, खाद्यान्नमा समेत प्रभाव पर्ने निश्चित छ । अझ लघु व्यवसाय गर्दै आएका व्यवसायीहरू यसको प्रत्यक्ष असर पुगेको छ । मूल्य बढाउँदा ग्राहक नआउने त्रास एकातिर छ भने अर्कोतिर नबढाउँदा आफैँलाई नोक्सान पर्ने स्थिति छ ।

पटक पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेर सरकारले नालायकीपन देखाएको उपभोक्तावादीको आरोप छ । जनताको सरकार कस्तो हुनुपर्छ भन्ने भारतबाट सिक्नुपर्ने भन्दै उनीहरूले तत्काल मूल्यवृद्धि फिर्ता गर्न आग्रह गरेका छन् ।

हालै मात्र इन्धनमा लगाइएको कर घटाउँदै भारतमा इन्धनको मूल्य घटाइएको छ ।

भर्खरै सम्पन्न चुनावमा जनताको हितका लागि सम्पूर्ण त्याग गर्ने संकल्प गरेका राजनीतिक दलहरूले जनतालाई मर्का पर्ने निर्णय गर्दा तीनपटक सोच्न जरुरी छ । जुनसुकै नाममा यस्ता निर्णय लिँदा वैकल्पिक प्रबन्धका बारेमा राज्य सचेत हुन बाञ्छनीय छ ।