
काठमाडौं । सरकारले नागरिकता विधेयकलाई छिट्टै टुंगोमा पुर्याउने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा विचाराधीन रहेको नागरिक विधेयकलाई सबै दलको सहमतिको आधारमा छिट्टै टुंगोमा पुर्याइने बताउनुभयो ।
सरकारले अदालतको आदेश र फैसला प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिएको छ । अन्तर्राष्ट्रिय महासन्धी तथा सन्धी सम्झौतामा नेपालले जनाएको प्रतिबद्धताबाट सिर्जित दायित्व पूरा गर्ने सरकारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रविधियुक्त बनाइने बताउँदै राष्ट्रपति भण्डारीले अनुचित कार्य निरुत्साहित बनाउन राष्ट्रिय सतर्कता केन्द्रलाई पूर्ण अधिकार दिइने बताउनुभयो ।
यस्तै, राष्ट्रपति भण्डारीले प्रवासमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्न पाउने बनाउन सरकार लागिपर्ने बताउनुभयो । अहिलेसम्म प्रवासमा भएका नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न पाएका छैनन् ।
कुटनीतिक माध्यमबाट सीमासम्बधी बाँकी रहेका विषयहरु समाधान गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
विद्युतीय राहदानी सहज रुपमा उपभोग गराइने प्रतिबद्धता जनाएको सरकारले विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई डिजिटल परिचयपत्र प्रदान गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्