
काठमाडौं । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बाँके जिल्लामा नेकपा एमाले र राप्रपाले विरासत जोगाउन सकेनन् ।
एमालेले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन । २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१ वडामा मात्र सिमीत हुन पुगेको छ ।
उस्तै, हालत राप्रपाको पनि छ । उसले नेपालगञ्जमा आफ्नो विरासत जोगाउन सकेन । निर्वाचनको सबै पालिकाको नतिजा सार्वजनिक हुँदा ८ पालिका रहेको जिल्लामा नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जितेर सबैभन्दा ठूलो दल बनेको छ ।
कांग्रेसले पाँच पालिकामा प्रमुख–उपप्रमुख दुवै, दुई पालिकामध्ये एकमा प्रमुख, अर्कोमा उपप्रमुख जित्न सफल भएको छ । जनता समाजवादी पार्टी (जसपा)ले एक पालिका प्रमुख र दुई उपप्रमुखमा जित निकालेको छ भने नेकपा (माओवादी केन्द्र)ले एक पालिका प्रमुख जितेको छ ।
गठबन्धनका बाबजुद पनि जिल्लाका छ पालिकामा एमाले दोस्रो शक्तिका रुपमा आफूलाई स्थापित गर्न सफल भएको एमाले बाँकेका इन्चार्ज सूर्य ढकालले बताउनुभयो ।
राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाले आफ्नो विरासत जोगाउन कोसिस भए पनि सम्भव हुन नसकेको बताउनुभयो । राप्रपाले माओवादीबाट नन्दलाल वैश्यलाई पार्टीमा ल्याएर निर्वाचन लडाएको थियो ।
नेपालगञ्जमा वैश्य तेस्रो स्थानमा रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्