
काठमाडौं । नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यवसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न ढिलाई नगर्न सरकारलाई दबाब दिनु भएको हो ।
बुधबार काठमाडौंमा आयोजित ‘मिडियामा मिथ्या सूचनासम्बन्धि कार्यशाला’मा बोल्दै उहाँले पत्रकारिता क्षेत्रबाट सही सूचनाको अपेक्षा गर्ने हो भने राज्यले त्यसलाई सिकाउनका लागि मेकानिज्म बनाउने काममा आलटाल गर्न नहुने स्पष्ट पार्नु भयो ।
सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम र यस अघिका सरकारले पनि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आमसञ्चार प्रतिष्ठान गठनका कुरा गरेपनि हालसम्म नभएकोमा अध्यक्ष पोखरेलले असन्तुष्टि व्यक्त गर्नु भयो ।
उहाँले नीति तथा कार्यक्रममा समावेश गरिएको सो प्रतिष्ठान गठन गर्ने कार्यलाई कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिन सञ्चारकर्मीहरुलाई समेत आह्वान गर्नुभयो ।
अध्यक्ष पोखरेलले विभिन्न खालका स्वार्थ समूहहरुको प्रलोभनमा नपर्न पनि संचारकर्मीहरुलाई सचेत गराउनुभयो । विभिन्न स्वार्थ समूहहरुले आफ्नो हितका लागि प्रलोभन वा दवाव दिँदा सही सूचना दिने बाटोमा ठूलो अवरोध हुने उल्लेख गर्दै उहाँले त्यसबाट बच्न आम सञ्चारकर्मी र मिडिया हाउसहरुलाई सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्