११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कोरोनाबाट अमेरिकामा २६ हजारभन्दा बढीको मृत्यु, ६ लाखभन्दा बढी संक्रमित


0
Shares

एजेन्सी, बैशाख ३ । अमेरिकामा कोराना भाइरसको संक्रमणबाट २६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म २६ हजारभन्दा बढीको मृत्यु भएको हो । मंगलबार एकैदिन २४ सयभन्दा बढी व्यक्तिको मृत्यु भएपछि यो आंकडा चुलिएको हो ।

त्यहाँ संक्रमितको संख्या पनि ६ लाख १३ हजार नाघेको छ । सबैभन्दा प्रभावित राज्य न्यूयोर्कमा मात्रै १० हजार ८३४ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या २ लाख नाघेको छ । इपिसेन्टर मानिएको न्यूयोर्कमा मंगलबार मात्र थप ७७८ जनाको मृत्यु भएको हो ।

अमेरिकामा पछिल्ला केही दिनयता दैनिकजसो २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिइएका छन् । मंगलबार मात्रै करिब २७ हजार नयाँ बिरामी थपिएका हुन् ।

न्यू जर्सीमा २८ सयभन्दा बढी, मिसिगनमा १७ सय ६८, लुजियानामा एक हजार १३ जनाको मृत्यु भएको खबर छ ।

अमेरिकामा ठूलो संख्यामा मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मर्नेको संख्या एक लाख २६ हजार ५सय नाघेको छ । संक्रमितको संख्या करिब २० लाख अर्थात् १९ लाख ९७ हजार ६२० पुगेको छ ।

अमेरिकापछि बढी प्रभावित इटालीमा २१ हजार ६७ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन इटालीमा ६०२ जनाको मृत्यु भएको हो । त्यहाँ संक्रमितको संख्या एक लाख ६२ हजार नाघेको छ ।

स्पेनमा १८ हजार २५५ जनाको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ७४ हजार नाघेको छ । फ्रान्समा १५ हजार ७२९ जनाको मृत्यु हुँदा एक लाख ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।