
सर्लाही । सर्लाहीका स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारहरु सबैभन्दा धेरै निर्वाचित भएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते सम्पन्न निर्वाचनबाट जिल्लामा निर्वाचित एक हजार ४० जना जनप्रतिनिधिहरुमध्ये कांग्रेसका मात्रै ३७२ जना निर्वाचित भएका हुन् ।
कांग्रेसबाट १२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष, ११ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष, ७४ वटा वडाको वडाध्यक्ष, ६७ जना महिला सदस्य, ६८ जना दलित महिला सदस्य र १४० जना खुला वडा सदस्य निर्वाचित भएका छन् ।
कांग्रेसपछि नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा छ । माओवादी केन्द्रबाट जिल्लाभर २०३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । माओवादीबाट चार जना पालिका प्रमुख तथा अध्यक्ष, चार जना पालिका उपप्रमुख तथा उपाध्यक्ष, ४० जना वडाध्यक्ष, ३८ जना महिला सदस्य, ४० जना दलित महिला सदस्य र ७७ जना खुला वडा सदस्य निर्वाचित भएका हुन् ।
तेस्रो भएको नेकपा एमालेबाट जिल्लामा १८४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । एमालेबाट एक जना पालिका प्रमुख, दुई जना पालिका उपप्रमुख, ३४ जना वडाध्यक्ष, ३९ जना महिला सदस्य, ३६ जना दलित महिला सदस्य र ७२ जना खुल्ला वडा सदस्य निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै, जिल्लामा जनता समाजवादी पार्टी (जसपा) बाट दुईवटा पालिकाको अध्यक्ष, दुईवटा पालिकाको उपाध्यक्ष, २७ जना वडाध्यक्ष, ३१ जना महिला सदस्य, ३० जना महिला सदस्य र ६० जना खुल्ला वडा सदस्यसहित १५२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ८५ जना, नेकपा एकीकृत समाजवादी पार्टीबाट २९ जना, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन एकता पार्टी नेपाल र स्वतन्त्रबाट पाँच/पाँच जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्