
काठमाडौं । स्थानीय निकायको चुनाव सकिएको ११ दिन वितिसक्दा पनि सेवाग्राहीको भीडभाड हुने काठमाडौंका सरकारी कार्यालय लयमा आउन सकेका छैनन् ।
न सेवाग्राहीको भीडभाड छ, न कर्मचारीमा उत्साह । सेवाग्राही कम हुँदा आर्थिक वर्षको अन्त्यमा हुने राजश्व संकलनमा समेत प्रत्यक्ष असर परेको छ ।
अरुबेला यहाँ सेवाग्राहीको भीडले खुट्टा राख्ने ठाउँ नहुने काठमाडौं सानोभर्याङस्थित यातायात कार्यालयमा अहिले सेवाग्राही पातलिएका छन् ।
चुनावअघि दैनिक १ देखि डेढ करोड रुपैयाँ राजस्व उठ्ने कार्यालयका आम्दानी अहिले २०–३० लाखमा खुम्चिएको शाखा अधिकृत उपेन्द्र साह बताउनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालय, राजश्व कार्यालय, काठमाडौं महानगर, नापी र मालपोतको अवस्था पनि उस्तै छ ।
स्थानीय तहका जनप्रतिनिधिले कार्यभार नसम्हालेका कारण नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि बनाउन आउने सेवाग्राही कम भएको जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल बताउनुहुन्छ ।
चुनावको माहोल र त्यसमाथि झरीले सरकारी काममा प्रभावित गरेको भुक्तभोगीहरू बताउँछन् । चुनावमा घर गएका फर्किने क्रम बढेपछि सरकारी कार्यालय गतिमा आउने विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्