
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार सम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर रहेको बताउनुभएको छ ।
सरकारी निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेसका महिला नेत्रीहरुको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री देउवाले त्यसबारे सरकारले आवश्यक तयारी अघि बढाइसकेको बताउनु भएको हो ।
उहाँले बलात्कारसम्बन्धी मुद्दामा जाहेरीका लागि तोकिएको हदम्यादको व्यवस्थाकै कारण हिंसा पीडित महिलाले न्याय नपाउने अवस्था नहुने बताउनुभयो ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वमा महिलासम्बन्धी मुद्दाहरुमा सरकारलाई ध्यानाकर्षणपत्र बुझाउन पुगेको टोलीमा कांग्रेसका महिला नेत्रीहरु सहभागी थिए ।
उनीहरुले लैंगिक हिंसासम्बन्धी कानूनको पुनरावलोकन गर्न, आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन गर्न, आगामी वर्षको बजेटमा महिलाको स्वास्थ्यलाई लक्षित गरेर कार्यक्रम र योजनाहरू ल्याउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्