१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अमेरिकी सहायकमन्त्री नेपाल आउँदा सरकार थुरथुर भयो : ओली


286
Shares

काठमाडौंं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्नुभएको छ ।

प्रतिनिधि सभामा बिहिबार सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं ओलीले केही दिनअघि काठमाडौं आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया तिब्बती शरणार्थी शिविरमा पुगेको विषयका सन्दर्भमा सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्नुभएको हो ।

उहाँले आफूले हुम्लाको लिमी जाँदा इजाजत लिएको उल्लेख गर्दै अमेरिकी उपविदेशमन्त्रीलाई शरणार्थी शिविरमा जान इजाजत दिनुपर्ने हो कि होइन इजाजत दिएको भने किन दिएको भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘विदेशीमन्त्री आएर इजाजत लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ भने कसरी दिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो ? कसको विपक्षमा दिनुभयो ?’

यो सरकारलाई अस्थायी, म्यादी सरकार भन्दै आलोचना गरेका उहाँले परराष्ट्र नीतिमा जे पनि गर्ने छुट नभएको बताउनुभयो । ‘कति लाचारी ? सत्ता कति प्यारो ? वात्तैपिच्छे सत्ता फुत्की हाल्छ ? कस्तो अचम्म ?’ उहाँले भन्नुभयो,’गठबन्धन बलियो छ भन्नुहुन्छ । तर एउटा सहायक विदेशमन्त्री आयो भने थुरथुर । तपाईंहरूको तीन दिन कामज्वरो हट्दैन । अनि कसरी आफ्नो स्वाधिनताको रक्षा गर्नुहुन्छ ।’

नेपालले एक चीन नीतिमा प्रतिवद्धता जनाएको भन्दै उहाँले भन्नुभयो, ‘सम्मानीय प्रधानमन्त्रीज्यू, मैले उठाएका प्रश्नहरुको जवाफ आउनुपर्छ । नेपाल एक चीन नीतिमा छ कि छैन ? सन्तुलित, एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ?’