
काठमाडौं । नीजि क्षेत्रको दुरसंचार प्रदायक कम्पनी एनसेलले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको हो ।
एनसेलले काठमाडौंको लैनचौर स्थित आफ्नो केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको हो । सो अवसरमा विद्यार्थीका अभिभावकहरु, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापक लगायतको उपस्थिति रहेको थियो ।
२०७१ सालबाट शुरु गरिएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको एनसेलले जनाएको छ । यो कार्यक्रम अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्ने गरिन्छ ।
सो अवसरमा इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्नुभएको थियो । त्यसैगरी, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशाल मणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तिय अधिकारी अनुपम भाटले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गर्नुभएको थियो । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।.
प्रतिक्रिया दिनुहोस्