
काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगले सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दलको हैसियत प्राप्त गरेका छन् ।
तालमेल गरेर चुनावी मैदानमा ओर्लिएको पाँच दलीय गठबन्धन औसत सफल भए पनि अपेक्षाकृत परिणाम ल्याउन सफल भएन । सोचअनुसार सफलता नभएपछि गठबन्धनभित्र असन्तुष्टि देखिएको छ ।
यद्यपि गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस चुनावी परिणामप्रति सन्तुष्ट छ । तर, पार्टीभित्रको अन्तर्घात र चुनावी तालमेलको व्यवस्थापन गर्न नसक्दा गठबन्धन दलहरूले अपेक्षाकृत परिणाम हात पार्न नसकेको कांग्रेसको ठहर छ ।
स्थानीय तह चुनावको परिणामले आगामी संघ र प्रदेश निर्वाचनमा पाँच दलीय गठबन्धनको निरन्तरताको आधार खडा भएको निष्कर्षमा पुगेको कांग्रेस वर्तमान गठबन्धनलाई निरन्तरता दिने पक्षमा छ ।
गठबन्धनकै कारण अघिल्लो निर्वाचनभन्दा शक्ति बढाउन सफल माओवादी केन्द्र चुनावी परिणामपछि थप मोलतोलको हैसियतमा पुगेको छ । पार्टीभित्रका एकाध बाहेक माओवादी केन्द्रको पार्टी पंक्ति चुनावी तालमेल सफल भएको कारण गठबन्धनको निरन्तरताको पक्षमा देखिन्छ ।
तर, गठबन्धनका अन्य दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने चुनावी परिणामप्रति सन्तुष्ट छैनन् । चुनावी तालमेल भए पनि मतदानमा गठबन्धनबाटै जालझेल भएको उनीहरूको टिप्पणी छ ।
स्थानीय तहको चुनावमा कांग्रेसका मतदाताबाट सोचेजस्तो सहयोग मिल्न नसकेको भन्दै एकीकृत समाजवादी र जनता समाजवादीका कतिपय नेताहरूले सार्वजनिक असन्तुष्टि पोखेका छन् ।
यद्यपि स्थानीय तह निर्वाचनको परिणामकै आधारमा गठबन्धन बदल्नुपर्ने सोच भने गठबन्धनमा आबद्ध कुनै दलमा नरहेको दाबी गरिएको छ । अर्कोतर्फ स्थानीय चुनावले रक्षात्मक बनाएको एमाले गठबन्धनभित्रको असन्तुष्टिबाट फाइदा लिएर पाँच दलीय गठबन्धन तोड्ने रणनीति सुरु गरेको छ ।
गठबन्धनमा देखिएको असन्तुष्टिमा खेलेर आगामी संघ र प्रदेशको निर्वाचनअघि नै गठबन्धन फुटाउने रणनीति अन्तर्गत नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको असन्तुष्ट दल जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसक्नुभएको छ ।
जनता समाजवादीका अध्यक्ष यादवमात्र नभई एमाले अध्यक्ष केपी शर्मा ओलीले संघ र प्रदेशको निर्वाचनसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फकाएर पुनः वाम गठबन्धन गर्नसक्ने अनुमान सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्