१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काठमाडौंको मेयर र उपमेयरमा तीन/तीन जनाबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत


598
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर निर्वाचनमा तीन जनाबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ ।

मेयर निर्वाचनमा निर्वाचित बालेन साह, सिर्जना सिंह र केशव स्थापितबाहेक अन्य सबैको जमानत जफत भएको छ भने उपमेयरमा निर्वाचित सुनिता डंगोल, रामेश्‍वर श्रेष्ठ र विद्या श्रेष्‍ठले मात्र जमानत जोगाउन सफल भए ।

कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ ।

निर्वाचन आयोगका अनुसार मेयर पदमा खसेको सदर मत १ लाख ५९ हजार ९ सय ६ छ । यस्तै, उपमेयर पदमा खसेका मतमध्ये १ लाख २८ हजार ९ सय ७५ सदर भएको आयोगले जनाएको छ ।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७६७ अर्थात खसेको कुल सदर मतको ३८.६३ प्रतिशत मत ल्याएर निर्वाचित हुनु भएको छ । दोस्रो स्थानमा रहनुभएकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ अर्थात २३.९८ प्रतिशत मत ल्याउनु भएको छ । त्यस्तै एमालेका केशव स्थापितले ३८ हजार ११७ अर्थात २३.८४ प्रतिशत मत पाउनु भएको छ । मेयरका बाँकी उम्मेदवारहरुले १० प्रतिशत मत ल्याउन सकेनन् ।

उपमेयरमा विजयी हुनु भएकी एमालेकी सुनिता डंगोलले ६८ हजार ६१२ अर्थात ५३.२० प्रतिशत मत ल्याउनु भएको छ । उपमेयरमा गठबन्धन तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८६ अर्थात १८.४६ प्रतिशत मत पाउनु भयो भने स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठले १३ हजार ६ सय ९५ अर्थात १०.६२ प्रतिशत मत पाउनु भएको छ । उपमेयरका बाँकी उम्मेदवारहरुले १० प्रतिशत मत कटाउन सकेनन् ।