
काभ्रे । कार्यकक्ष विवादले पाँचखाल नगरपालिकामा उप–प्रमुख सुर्यमाया दनुवारको पदभारग्रहण कार्यक्रम रोकिएको छ ।
बिहीबार शपथग्रहणपछि उप–प्रमुखले कार्यभार सम्हाल्ने कार्यक्रम भए पनि रातारात जनतासँग सहज पहुँच हन नसक्ने स्थानमा कार्यकक्ष सारिएको भन्दै पदभारग्रहण हुन सकेन ।
नगरप्रमुख महेश खरेल र कर्मचारीको मिलेमतोमा उप–प्रमुख दनुवारलाई जनतासँग कम पहुँच हुने स्थानमा सार्ने षड्यन्त्र गरिएको एमालेका कार्यकर्ताको आरोप छ ।
खरेल नेपाली कांग्रेस र दनुवार नेकपा एमालेबाट निर्वाचित हुन् । यसअघि नगरप्रमुख खरेल र निवर्तमान उपप्रमुख लक्ष्मी दनुवारको कार्यकक्ष सँगै राखिएको भए पनि अहिले भने उप–प्रमुखको कार्यकक्ष छुट्टै तेस्रो तलामा सारिएको छ ।
यसअघि दोस्रो तलामा रहेको निवर्तमान उप–प्रमुखको कार्यकक्ष भने अहिले बन्द छ । आफूले सुविधा नभइ सहजता खोजेको उहाँको भनाइ छ ।
हिजोका दिनसम्म त्यही कार्यकक्षबाट सेवा दिँदा समस्या नहुने तर, आफू निर्वाचित भएर आएपछि अचानक किन कार्यकक्ष सारियो भन्दै उप–प्रमुख दनुवारले आपत्ति जनाउनुभयो ।
यस्तै नेकपा एमाले पाँचखाल नगर कमिटीले विज्ञप्ति जारी गर्दै कार्यकक्ष सारिएकोमा खेद प्रकट गरेको छ ।
यता, पाँचखाल नगरपालिका प्रशासनले भने यसअघि नै उप–प्रमुखको कार्यकक्ष सार्ने तयारी गरे पनि विविध कारण सम्भव नभएको र अहिले सारिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्