
काठमाडौं । स्थानीय चुनावको चर्चा परिचर्चासँगै काठमाडौं महानगरमा दाह्री पालेको एउटा जाँगरिलो ठिटोको उदय भयो ।
४० लाख जनसंख्या, मुलुकको राजधानी रहेको काठमाडौं महानगरको प्रमुख बन्ने लक्ष्य सार्वजनिक भएलगत्तै त्यो खबर धेरैका लागि उडन्ते लाग्यो ।
मूलधारका राजनीतिक पार्टीहरूको दबदबा चलिरहेको समकालीन राजनीतिलाई चिरेर भारी मतान्तरका साथ त्यही युवालाई काठमाडौंबासीले आफ्नो भाग्य र भविष्य सुम्पिएका छन् ।
चमत्कार भन्ने चीज कसैको जीवनमा लागू हुन्छ भने त्यसको ज्वलन्त उदाहरण हुन– बालेन्द्र शाह । असम्भव लाग्ने कथा बुन्न सिपालु हिन्दी सिनेमाको हिरो पात्रलाई समेत चुनौती दिने शैलीमा उनी राजनीतिका नायक बन्न सफल भएका छन् ।
हुन त संघर्षमा नभई सफलतामा मात्र सबैको आँखा पुग्छ । बालेन्द्र त्यही पात्र हुन्, जसले पाँच वर्षअघि कसैलाई मत नदिएर आफू त्यो पदमा पुग्ने संकल्प गरेका थिए ।
बालेन्द्रभित्र अनेकथरि प्रतिभाका पत्र हुन् । पेशाले कुशल इन्जिनियर उनी सोखले उम्दा ¥यापर हुन् । कवि, साहित्य मात्र हैन, अभिनयको रसमा पनि उत्तिक्कै भिजेका छन् ।
चुनावी अभियानमा पनि उनीसँग भीड थिएन, एजेण्डा थियो । पैसा थिएन, युवाहरूको सपना थियो । बालेन्द्रले तिनै युवाहरूको सामर्थ्यलाई चुनावी मिसाइल बनाए । उनले पाएको चुनाव चिन्ह लौरोको लाक्षणिक उपयोगितालाई उनले सहज र सरलसँग अर्थ्याइदिए ।
ज्येष्ठ नागरिकलाई सत्मार्गमा डोर्याउने र व्यभिचारीलाई सुम्ल्याउने हिसाबमा लौरोको बखान गरियो । आफू अग्लिन अरुलाई होच्याउने परम्परा विपरीत उनले सबैलाई श्रद्धा बाँडेर नै सफल हुन सकिन्छ भन्ने अमर सन्देश प्रवाहित गरे । जुन नेपालको राजनीतिमा एउटा नयाँ प्रयोगसँगै नजिर बन्यो ।
बालेन्द्रको लोकप्रियता यसरी चुलिँदै गयो कि उनले लगाएको कालो चस्मा र थरिथरिका कोट फेसनकै ब्राण्ड बन्यो । गलामा भिरेको राष्ट्रिय झण्डालाई महानगरबासीले देशप्रेमको अभिव्यक्तिका रूपमा बुझे । उनले नारा आश्वासन बाँडेनन् ।
त्यही इमानलाई स्थानीयले बुटी मानेर उनलाई प्रचण्ड मतकासाथ अनुमोदन गरिदिए । आमा धु्रवदेबी शाह र बुबा डा.रामनारायण शाहका छोरा बालेन शाह ३२ वर्षअघि काठमाडौंमा जन्मिएका हुन् । उनले ६५ देशको भ्रमण भ्रमण गरेका छन् ।
तराई मूलका उनले सविना काफ्लेसँग विवाह गरेका छन् । ०७२ सालको भुकम्पपछिको पुर्ननिर्माणमा बालेनको ईन्जिनियरिङमा देशका ६० बढी जिल्लामा पुननिर्माणको काम भएको छ ।
महानगरको पिताका रूपमा अब बालेन्द्रको अग्निपरीक्षा शुरु भएको छ । कर्तव्यसहितको उत्तरदायित्व आफैँमा बोझिलो छ । दशकौंदेखि एउटै ढर्रा र राजनीतिक सिण्डिकेटमा चलेको महानगरभित्रको फोहोर बढारेपछि मात्र नयाँपुस्ताको सपना साकार हुने देखिन्छ ।
लाखौं महानगरबासीका म्यानेजर हुन् उनी । न उडन्ते गफ गर्ने छूट छ, न अरुलाई दोष थोपरेर उम्कने सुविधा नै । साना र अर्थपूर्ण कामको जाँगरले बालेन्द्र भावी यात्रा तय गर्ने भएकाले यसतर्फ सचेत हुन आवश्यक छ । उनको सफलतासँग बालेन्द्रहरु जन्मिने या मुर्झाउने अवस्था निर्धारण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्