
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताउनुभएको हो । उहाँले लामो समयको अध्ययन पश्चात् निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताउनुभयो ।
विमानस्थल निर्माणमा अर्बौ रुपैयाँ खर्च भइसकेको र जग्गा समेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुखद भएको उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने बताउनुभयो । सरकार र राजनीतिक दलहरुले पनि यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने उहाँले बताउनुभयो । निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उहाँले उल्लेख गर्नुभयो ।
त्यहाँ विमानस्थल बनाउँदै गर्दा वनविनाश नभएको र वन्यजन्तुको आगमनलाई समेत असर नपरेको उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालले निर्वाचन प्रणाली महंगो भएकाले यस्तो प्रणाली माथि बिचार गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले भ्रष्टाचारको जालोलाई समाप्त पार्नका लागि स्वच्छ राजनीति गर्नुपर्ने बताउनुभयो । उहाँले समानुपातिक निर्वाचन प्रणालीमा गएपनि निर्वाचनमा हुने खर्च नरोकिने बताउनुभयो ।
यसका निम्ति सत्तामा रहेका व्यक्तिहरुको धारणा स्पष्ट हुनुपर्ने बताउनुभयो ।
उहाँले सरकारले विकास निर्माणको काम गर्दा परियोजनाको प्राथमिकिकरण गर्नुपर्नेमा जोड दिनुभयो । योजनालाई प्राथमिकिकरण गर्दै समग्र नेपालको विकास खाका बनाउनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्