
काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली टोलीलाई शनिबार बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले एक कार्यक्रमको आयोजना गरेर श्रृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार बिदाई गरेको हो । टोली आजै अमेरिका जाँदैछ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले बिदाई गरेको हो ।
भ्रमण टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सफलताको शुभकामना दिए । बिदाई कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे ।
धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि श्रृंखला निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आपूm आशवादी रहेको बताउनुभयो ।
पहिलो पटक श्रृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो । नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक श्रृंखला खेल्नेछ । श्रृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका समेत रहेको छ ।
नेपाली टोलीलाई सम्हालेका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोली तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आफू आशावादी रहेको प्रतिक्रिया दिए ।
लिग–२ शृंखला अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग जुन नौ तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्नेछ ।
आईसीसी विश्वकप लिग–२ प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नुपर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजाविहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा रहेको छ ।
यसैगरी स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ । १२ खेल खेलेको नेपाल अहिले छैटौं स्थानमा छ । पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर तालिकाको पुुछारमा छ ।
अमेरिका पाँचौं स्थानमा छ भने नामिबिया चौथो स्थानमा रहेको छ । ७ मध्य शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको छनोटका लागि स्थान बनाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्