
काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम जाने क्रममा आइतबार बिहानदेखि उडेको तारा एयरको विमान अझै भेटिएको छैन ।
आइतबार बिहान ९ बजेर ५५ मिनेट जाँदा जोमसोमतर्फ लागेको विमान जोमसोम विमानस्थलको टावरसँगको सम्पर्क विच्छेद भएपछि अहिलेसम्म भेटिएको छैन । बिहान १० बजेर ७ मिनेटमा अन्तिमपटक विमानले टावरसँगको सम्पर्क गरेको बताईएको छ । त्यसपछि जहाजको अवस्थाबारे सबै अज्ञात छन् ।
अनुभवी पाइलट प्रभाकर घिमिरेसहित जहाजमा चालक दलका दुईजना सदस्य र १९ यात्रु थिए । जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए ।
हराएको विमान खोज्न काठमाडौंबाट नेपाली सेनाको टोली मुस्ताङ पुगेको छ । सेनासहित फिस्टेल एयरका दुइवटा हेलिकोप्टरले आकाशबाट र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जमिनबाट खोजी कार्यलाई अगाडि बढाएका छन् ।
आइतबार साँझ स्थगित गरिएको खोजी कार्य सोमबार बिहानैदेखि पुनः थालिएको छ ।
सेनाको हेलिकोप्टरले पोखराबाट गएको विशेष खोजी तथा उद्धार टोलीलाई सोमबार बिहान मुस्ताङको लौरीकोटमा झारेको छ । त्यहाँबाट हिमालयन उद्धारकर्तासहितको टोली शंकास्पद स्थान मानापाथी हिमालको फेदीतर्फ बढेको छ । आज पनि मुस्ताङको आकाश भने सफा छैन ।
प्रतिक्रिया दिनुहोस्